धरान : खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् तथा अभियन्ता डा. केशर बहादुर बिष्टले सम्बोधन गर्दै खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे प्रकाश पार्दै राष्ट्रिय गानका केही पंक्तिहरूले ऐतिहासिक यथार्थलाई पूर्ण रूपमा नझल्काउने धारणा व्यक्त गरे।
डाक्टर बिष्टले “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” भन्ने पंक्ति सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने वाक्यांश ऐतिहासिक रूपमा मेल नखाने उनको तर्क गर्दै नेपालको भूगोल ऐतिहासिक रूपमा खुम्चिँदै गएको बताए ।
उनले भने “पहिले पश्चिममा कुमाउँ–गढवाल, काङ्गडा र पूर्वमा टिष्टा सम्म हाम्रो पहुँच थियो।,”
समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै डा. बिष्टले देश नेतृत्वहीनता र अराजकतामा अघि बढिरहेको आरोप लगाए।
राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्थाको पुनःस्थापनाको विकल्प नरहेको धारणा व्यक्त गरे।
चिकित्सकहरूले आपत्कालीन सेवा बन्द गर्ने घटनालाई उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई दुर्भाग्यपूर्ण भएको बताए।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार किशोर कुमार कार्कीले खस–क्षेत्री समुदायलाई “सुतिरहेको सिंह” को संज्ञा दिँदै समुदायविरुद्ध भइरहेका विभिन्न कोणका आक्रमण र उत्तेजनात्मक अभिव्यक्तिबाट सजग रहनुपर्ने बताए।
त्यसैगरी संयुक्त खस समाजका केन्द्रीय उपाध्यक्ष प्रताप थापा, प्रतिष्ठान कोशी प्रदेश संयोजक हरीबहादुर कार्की, उपसचिव लक्ष्मी बानियालगायत वक्ताहरूले खस समुदायको पहिचान, एकता र समसामयिक चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमकै अवसरमा प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

खस–क्षेत्री समुदायकी कमला कटुवालले विराट टिचिङ हस्पिटलबाट एमबीबीएस उत्तीर्ण गरेको अवसरमा प्रतिष्ठानले दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गरेको थियो।कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बिरेस थापाले गरे ।
औपचारिक कार्यक्रममा पछि मैत्रीपूर्ण बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव हिमाल कार्कीले गरेका थिए।

तपाईको प्रतिक्रिया