
धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ मा नवगठित हिबिस्कस बाल क्लबका पदाधिकारी र धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारमबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडाध्यक्ष इवारमले बालबालिकाका हक, अधिकार, कर्तव्य तथा समाजमा उनीहरूको भूमिकाबारे जानकारी गराउँदै नेतृत्व विकास, अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित बाल क्लबका पदाधिकारी तथा सदस्यहरूले आफ्नो परिचय प्रस्तुत गर्दै विद्यालय र समुदायमा बालमैत्री गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।वडाध्यक्ष इवारमले बाल क्लबहरू बालबालिकाको नेतृत्व क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय रहने विश्वास व्यक्त गरे।
विद्यालय र वडा कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रमले बालबालिकालाई स्थानीय सरकारसँग प्रत्यक्ष परिचित गराउनुका साथै नागरिक चेतना, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
विद्यालयका निर्देशक गंगाराम राईका अनुसार विद्यार्थीहरूलाई स्थानीय तहबाट बाल अधिकारका क्षेत्रमा भइरहेका गतिविधि तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।





