
धरान : धरान–५ स्थित हिमाली माध्यमिक विद्यालयमा ४ कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
सोमबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले विद्यालय परिसरमा भवनको शिलान्यास गरेका हुन्। विद्यालयमा आवश्यक कक्षाकोठा थप गर्दै पठनपाठनका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो।
भवन निर्माणका लागि धरान उपमहानगरपालिकाले ई–बिडिङमार्फत ठेक्का आह्वान गरेको थियो। प्रतिस्पर्धात्मक प्रक्रियाबाट शुभिव्यन बिल्डर्स प्रालिले भवन निर्माणको ठेक्का पाएको हो।आयोजनाको सम्झौता नम्बर ४७ धरान वर्क्स एनसीआर ०८२/८३ रहेको छ। उपमहानगरपालिका र निर्माण कम्पनीबिच २०८३ असार १२ गते सम्झौता भएको हो।
सम्झौताअनुसार भवन निर्माण २०८३ कात्तिक ३० गतेसम्म सम्पन्न गर्नुपर्नेछ।भवन निर्माणको सम्झौता रकम १ करोड १ लाख ८७ हजार ६ सय ९४ रुपैयाँ ७९ पैसा रहेको छ। उक्त रकममा पीएस तथा भ्याटसमेत समावेश गरिएको छ।शुभिव्यन बिल्डर्स प्रालिले धरान–१७ स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयका लागि निर्माण हुने ४ कोठे भवनको ठेक्का समेत पाएको छ।नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीको पठनपाठन थप व्यवस्थित र सहज हुने विद्यालयले जनाएको छ।
भवन शिलान्यास कार्यक्रममा धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बु, विद्यालयका प्रधानाध्यापक एम। खत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता सुनुवार लिम्बु तथा पूर्व व्यवस्थापन समिति अध्यक्ष दीपक घिसिङलगायतको उपस्थिति रहेको थियो।





