
धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले संस्कार र संस्कृति अरूले बचाइदिएर मात्र जोगिन नसक्ने भन्दै यसको संरक्षणका लागि समुदाय आफैँ अग्रसर हुनुपर्ने बताएका छन् ।
आइतबार धरान–३ स्थित झिंगु समाजमा आयोजित दुई दिने धिमे बाजा अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कावा प्रमुख बेघाले संस्कार,संस्कृति र मौलिक परम्परा पुस्तान्तरण मार्फत जोगाउनुपर्नेमा जोड दिए ।
उनले“संस्कार कसरी बचाउने भन्ने कुरा नयाँ पुस्तालाई सिकाउनुपर्छ,नेवार समुदायमा बिहान–बेलुका आफू भन्दा ठुलालाई शिर निहुराउन मात्र सिकाउने अभ्यास गराएर पनि आत्मीयता र समुदायबिचको सम्बन्ध बलियो बनाउन सकिन्छ ।,” भन्दै संस्कृतिले समाजलाई परिष्कृत बनाउने बताए ।
नेवा देय दबूँ धरान उपमहानगर समितिको आयोजनामा जेठ ९ गतेदेखि सुरु भएको दुई दिने धिमे बाजा अभिमुखीकरण कार्यक्रममा धिमे बाजाको प्रयोग,ताल, सांस्कृतिक महत्त्व तथा परम्परागत बाजा वादनबारे प्रशिक्षण दिइएको थियो ।
आयोजकका अनुसार युवापुस्तालाई नेवा संस्कृतिसँग जोड्ने तथा मौलिक बाजागाजा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेवा समुदायको तर्फबाट यातायात क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज श्रेष्ठ र नेवा देय दबूका केन्द्रीय उपाध्यक्ष नरेश शाक्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले संस्कृति संरक्षणका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रम सफलताको शुभकामना तथा आयोजक र सहभागीलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नेवा देय दवु धरान अध्यक्ष मनोहर शाक्यले गरेका थिए ।





