
धरान : धरान–१७ स्थित पटनाली बासिन्दाहरूले वडा नम्बर १७ का निवर्तमान वडाध्यक्ष मनोज भट्टराईलाई “हाम्रा लागि भगवान् समान व्यक्ति”को रूपमा स्मरण गरेका छन्।
स्थानीय बासिन्दाहरू भन्छन् काकाकुल अवस्थामा रहेको पटनाली बस्तीमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्दै भट्टराईले जनताको जीवनस्तरमै परिवर्तन ल्याएका हुन्। भट्टराईले खानेपानी मात्र होइन,वराहक्षेत्र–१ र पटनाली बासीको मन मात्र होइन,भूगोल नै जोड्ने ऐतिहासिक पहलसमेत उनकै नेतृत्वमा अघि बढेको स्थानीयहरूको भनाइ छ।
नन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र गिरीले भने,“मनोज भट्टराईले प्रदेश सरकारबाट बजेट ल्याएर पटनालीबासीको सदियौँदेखिको खानेपानी समस्या अन्त्य गर्न निर्णायक भूमिका खेले। करिब एक वर्षअघि मात्रै यहाँको पानी समस्या पूर्ण रूपमा समाधान भयो।”
गिरीले भट्टराई वडा अध्यक्ष हुँदा काकाकुल अवस्थामा रहेको पटनाली बस्तीलाई पानी खुवाएर भट्टराईले शाब्दिक अर्थमै जीवन दिएका हुन्। आज पटनाली विकासको बाटोमा अघि बढिरहेको छ भने त्यसको जग मनोज भट्टराईकै योगदान हो। हाल करिब ३५० घरधुरी प्रत्यक्ष रूपमा खानेपानी सेवाबाट लाभान्वित छन्।
स्थानीय बासिन्दा दुर्गामाया परियार भन्छिन्,“पहिले करिब डेढ घण्टाको बाटो डोको बोकेर पानी लिन जानुपर्थ्यो। घरमा साना बच्चा छोडेर जानु पर्दा निकै दुःख हुन्थ्यो। अहिले घरघरमै धाराबाट पानी आउँछ। एक महिनाको ७५ रुपैयाँमै पानी चलाउन पाइन्छ। अहिले हामी खुसी छौँ। अब उहाँ प्रतिनिधि सभा उम्मेदवार पनि बन्नु भएको छ, जितेपछि हात्ती र बाटोको समस्या पनि समाधान गर्नुहुन्छ भन्ने आशा छ।”
पटनाली र वराहक्षेत्र–१ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पनि तत्कालीन वडा अध्यक्ष भट्टराईकै पहलमा प्रदेश र सङ्घीय सरकारबाट करिब ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। पुल निर्माणको उद्देश्य धरान र वराहक्षेत्रका जनताको आवत–जावत सहज बनाउनु रहेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार, भट्टराईले कोशी प्रदेश सरकार तथा सङ्घीय निकायहरूसँग समन्वय गर्दै निरन्तर पहलमार्फत बजेट सुनिश्चित गरेका थिए। क्रमागत बजेट प्रणालीमार्फत दुई क्षेत्र बिचको भौगोलिक दूरी मात्र होइन, जनस्तरको सम्बन्ध समेत जोड्ने प्रयास गरिएको हो।
पटनालीबासी तथा वराहक्षेत्र–१ का नागरिकहरूको दैनन्दिन आवश्यकतालाई ध्यानमा राख्दै ल्याइएको झोलुङ्गे पुल अवधारणाबाट करिब ३०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
तर निर्माण सम्पन्न हुने समय नजिकिँदै गर्दा पनि ठेक्केदारको ढिलासुस्तीका कारण काम सुस्त गतिमा अघि बढिरहेको पटनाली धारा झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष किरण थापाले बताए।
उनले भने“भट्टराईले जनताको पीडा र आवश्यकतालाई बुझेर पुल निर्माणको पहल गर्नुभयो, तर निर्माण प्रक्रियामा देखिएको ढिलाइले स्थानीयलाई निराश बनाएको छ।”





