धरान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन गरिएको छ। सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले धरान–३ स्थित सदन रोडमा सचिवालयको उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटन समारोहमा बोल्दै राईले केन्द्रसँग समन्वय भएका विकास योजनाहरू अघि बढाइने बताए।
उनले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार विकास तथा सुकुम्वासी समस्याको व्यवस्थित समाधानलाई प्राथमिकतामा राख्दै सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन अपिल गरे।
विगतका उम्मेदवारहरूले गरेका प्रतिबद्धता र अधुरा योजनाहरू पूरा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताए ।
राईले मुलुकको आवश्यकता अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग तालमेल तथा सहकार्य गरिएको जानकारी दिए।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राईले सुनसरी–१ मा पार्टीका उम्मेदवार मनोज भट्टराई राजनीतिक अनुभव र क्षेत्रगत प्रभावका आधारमा सबैभन्दा सबल उम्मेदवार रहेको दाबी गरे।
उनले मतदातालाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी भट्टराईलाई विजयी गराउन आग्रह गर्दै, भट्टराईको विजय कुनै एक व्यक्तिको मात्र नभई मुलुकको वर्तमान राजनीतिक सङ्कट समाधानका लागि आवश्यक रहेको बताए।
उनका अनुसार निर्वाचन व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन भइसकेको छ र सबै कार्यकर्ताहरू कार्य विभाजनसहित मैदानमा खटिसकेका छन्।
व्यक्तिगत आग्रह, सामाजिक सञ्जालको हल्ला, जातीय वा क्षेत्रीय भावनामा नबसी देशको भविष्यका लागि मतदान गर्न उनले मतदातालाई अनुरोध गरे।
निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका किरण राईले सचिवालयमार्फत सुनसरी–१ मा नेकपाका उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन सम्पूर्ण निर्वाचन गतिविधि सञ्चालन गरिने जानकारी दिए।
भट्टराई जनताको पक्षमा काम गर्ने निष्पक्ष र इमानदार नेता भएको दाबी गर्दै, उनले दुई कार्यकाल धरान–१७ का वडा अध्यक्षका रूपमा जनमुखी काम गरेको अनुभव रहेको उल्लेख गरे।
सुनसरी–१ का विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता : उम्मेदवार भट्टराई 
उम्मेदवार मनोज भट्टराईले धरान विगतमा पर्यटकीय, सांस्कृतिक, शैक्षिक, खेलकुद तथा फेसन सहरको रूपमा परिचित रहेको स्मरण गराउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसजस्ता संस्थाले देशका लागि दक्ष जनशक्ति उत्पादन गरेको बताए।
हाल धरानको शैक्षिक र सामाजिक वातावरण कमजोर हुँदै गएको र दुर्व्यसनजस्ता समस्या बढेको उल्लेख गर्दै ती समस्या समाधान गरी धरानको समग्र विकासमा केन्द्रित भएर उम्मेदवारी दिएको बताए।
उनले सुनसरी–१ का विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता व्यक्त गर्दै बाँझ गरा–नडाह–धरान, कालापानी–भल्लोचौर–विष्णु पादुका–धरान तथा पाञ्चायन–हरियाली सडक खण्डलाई आफ्नो कार्यकालमा पूर्णता दिने बताए।
त्यसै गरी विष्णु पादुका र चिण्डेडाँडाको पर्यटन प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। भट्टराईले चुनावको बेला मात्र देखिने र जितेपछि हराउने प्रवृत्तिको अन्त्य गर्ने भन्दै हार–जित जे भए पनि सधैँ यस क्षेत्रका जनताको सुख–दुःखमा साथ रहने भावनात्मक प्रतिबद्धता जनाए।
धरान र सुनसरी–१ को गुमेको साख र अभिमान पुनर्जीवित गर्नु नै आफ्नो मुख्य जिम्मेवारी भएको उनले बताए।

तपाईको प्रतिक्रिया