No description available.

धरान : धरान–३ स्थित भानु स्मृति विद्यालयको प्राङ्गणमा बिहानीको घाम हल्का झल्किँदै थियो। विद्यालयका पुराना विद्यार्थीद्धय दुर्गा र शैलीका लिम्बु वर्षेपछि आफ्नै विद्यालय फर्किएका थिए। तर आज उनीहरू विद्यार्थी होइनन् ,सम्झनाको सन्देश बोकेका सन्तान बनेका थिए ।

त्यो सम्झना थियो स्वर्गीय विष्णु कुमार लिम्बुको एक अभिभावक,जसको मिहिनेत र समर्पणले परिवारलाई उचाइमा पुर्‍यायो। उनको १९औँ स्मृति दिवसको अवसरमा,श्रीमती जित माया लिम्बु,छोरी द्वय दुर्गा र शैलीका लिम्बु तथा ज्वाइँ आश कुमार राईले विद्यालयलाई ५१ हजार ५ रुपैयाँ सहयोग गरे।

हातमा सानो खाम थियो, तर त्यस खाममा थियो बुबाप्रतिको गहिरो माया र कृतज्ञता। उक्त रकम विद्यालयका प्रधानाध्यापक रवीन्द्र सुवेदी र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैना कला न्यौपानेलाई हस्तान्तरण गर्दै छोरी दुर्गाले भनिन् “हामी यहीँ पढ्दै हुर्केका हौँ। यो विद्यालयले हाम्रो जीवनको आधार बनायो।

आज बुबाको सम्झनामा केही फर्काउन पाउँदा गर्व लागेको छ।” विद्यालयको हरेक कुनामा त्यस क्षण एउटा आत्मीय ऊर्जा फैलिएको थियो । जस्तो बुबाको अनुहार, छोरीहरूको आँखाबाट फेरि मुस्कुराइरहेको हो। त्यो सहयोगबाट विद्यालयमा “स्वर्गीय विष्णु कुमार लिम्बु जेहेनदार विद्यार्थी छात्रवृत्ति कोष” स्थापना गरियो।

विद्यालयका प्रअ सुवेदीका अनुसार,कोष विद्यालयका मेधावी र आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि उपयोग हुनेछ। विद्यालयमा अक्षयकोष स्थापना हुने यात्रा २०६७ सालमा सुरु भएको थियो, जब विद्यालयका सहयोगी मनका धनी कर्मचारी रामबहादुर अधिकारीले पहिलो पटक २० हजार रुपैयाँ सहयोग गरेका थिए।

अहिले त्यो कोष १६ लाख रुपैयाँमा पुगेको छ। प्रअ सुवेदी भन्छन्,“हामी हरेक वर्ष उठ्ने ब्याजबाट विद्यार्थीलाई कापी–कलम वितरण गर्छौँ, ताकि सहयोगको भावना पढाइसँग जोडिरहोस्।” कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य दान बहादुर राई, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन शिक्षक ओम रिमालले गरेका थिए। विद्यालयको पुरानो भित्तामा टाँसिएको त्यो कोषको नाम आज एउटा कथा बोकेको छ।एक बुबाको सम्झनाको, जसलाई उनका सन्तानहरूले शिक्षा र सद्भावमार्फत अक्षय बनाए।

तपाईको प्रतिक्रिया