धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुम जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका रनध्वज लिम्बू कन्दङवाले व्यवस्थापिकाको मुख्य भूमिका नीति तथा कानुन निर्माण भएको बताएका छन्।
बुधबार धरानमा सञ्चारकर्मीसँग भेटघाट गर्दै कन्दङवाले संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको भूमिकाबारे स्पष्ट पारे।कन्दङवाले विकास निर्माण कार्य कार्यपालिकाको क्षेत्र भए पनि नीति निर्माणमा कमजोरी हुँदा विकासमा समस्या देखिएको छ ।
आफ्नो जन्मभूमि तेह्रथुमसँगको सम्बन्ध उल्लेख गर्दै उनले भने ‘जिल्लाको माटो, वनजंगल र खोलानालासँग आफू भावनात्मक रूपमा जोडिएको छ।’ तेह्रथुमको स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उनले बताए।
कन्दङवाले विगतमा विभिन्न राजनीतिक दलमा रहेर प्रदेश नम्बर १ का १४ वटै जिल्लामा संगठन विस्तार तथा अभियानमा सक्रिय भूमिका खेलेको दाबी गरे। अब जनताका बीचमा पुगेर अल्पकालीन र दीर्घकालीन समस्या पहिचान गरी समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
उनले तेह्रथुमवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न आग्रह गरे। साथै पार्टीका नेता–कार्यकर्तालाई इमानदार, मर्यादित र अनुशासित भएर जनताको सेवा गर्न अपिल गरे।
विशेषगरी युवा पुस्ता (जनरेशन जेड), महिला तथा युवाहरूलाई गाउँ–टोलमा सक्रिय भएर चुनाव प्रचारमा जुट्न आग्रह गर्दै ‘तारा’ चिन्हलाई जिताउन सहयोग गर्न अनुरोध गरे।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुमबाट नेपाली काँग्रेसबाट सन्तोष निङलेकु,नेकपा एमालेबाट भानुभक्त ढकाल , रास्वपाबाट सुरेन्द्र कार्की,म संस्कृति पार्टीको तर्फबाट सुविन्द्र थेगुवा,मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट गंगा चोङबाङ लगायतले उम्मेदवारी दिएका छन ।\
तेह्रथुममा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ५६ मतदानस्थलमा ९३ मतदान केन्द्र र २ सहायक मतदान केन्द्र रहनेछन् ।
निर्वाचनमा सहभागी मतदातामध्ये ३५ हजार ५ सय १० महिला र ३७ हजार ६ सय २७ पुरुष गरी कुल ७३ हजार १ सय ३७ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी सुनिता रिमालले जानकारी दिएका हुन ।





