- भवानी बराल

जेनजी आन्दोलनको रापताप सेलाउँदै गर्दा असोज ९ र १० गते माओवादी केन्द्रले केन्द्रिय समितिको बैठक सम्पन्न गर्‍यो । आउँदो मंसीरसम्ममा महाधिवेसन गर्ने निर्णय गर्दै प्रचण्ड संयोजक रहेको महाधिवेसन आयोजक समिति पनि बनायो ।

प्रचण्ड संयोजक रहेको यो समितिले महाधिवेसन गर्ने/नगर्ने या अर्थोकै गर्ने गर्भगृह मै छ । शान्ति प्रक्रियामा आएसंगै माओवादी पार्टीको बैठक, सम्मेलन, महाधिवेसन कुनै हटिया या कुनै रामरमितावाला रमाइलो मेला जस्तो हुँदै आएकोले यस्तो लख काट्नु अनौठो होइन ।

यस्तै अन्योलमा पत्रकारले खुटखबर लिन प्रचण्डलाइ नेतृत्व हस्तान्तरण, पुस्तान्तरण गर्ने बारे सोध्न खोजेका थिए । तर जाँदाजाँदै प्रचण्डले एकै वाक्यमा भने, ‘म अब माओवादी अध्यक्ष रहिनँ, संयोजक भएँ ।’ यतिमात्र के भनेका थिए गाडिको ढोका लगाएर हिँडे । पत्रकारले अब अध्यक्ष र संयोजकको टीका पत्ता लगाउनु बाहेक केहि हात नलाग्ने भएको छ ।

शब्दको अर्थ :शब्दको अर्थ केलाउने हो भने प्रचण्डले भनेको कुरामा विमति जनाउने ठाउँ छैन । नेपाली शब्द कोसहरुले अध्यक्ष र संयोजकको भिन्न अर्थ लगाएकै छ । अध्यक्ष भनेको कुनै संस्था, कम्पनी, समिति, सभा आदिको प्रमुख । कुनै राष्ट्रको सभापति, कुनै कार्यालयको प्रमुख, मूख्य हाकिम वा सञ्चालक आदि हो ।तर संयोजक भनेको दुई वा दुईभन्दा बढी विषय वा वस्तुलाई मिलाउने, विभिन्न वस्तु वा तत्वलाई एकसाथ पार्ने, कुनै सभा, गोष्ठि आदि कार्यक्रमको आयोजना गर्ने आयोजक आदि हो ।

शब्द कोसको अर्थ अनुसार प्रचण्ड असोज १० गतेदेखि अध्यक्षबाट विदावारी भएर संयोजकको भूमिकामा गए भन्ने नै बुझिन्छ । उनी यतिखेर अध्यक्षको कार्यकारी भूमिकाबाट संयोजकको मानार्थ तदर्थ भूमिकामा आइपुगेका छन् । तर विषय वा प्रसंगले अर्को अर्थ नलागेमा शब्दकोसले जे अर्थ लगाए पनि प्रचण्डको शब्दकोसले लगाएको अर्थ मात्र खास अर्थ हुनेछ ।

झोडे नेता :

कुरो उहिले कै हो । पञ्चायतकालीन समयमा तराइको चारकोसे झाडी फाँडेर बस्ती बसाउने उपक्रम धुमधामसंग चलेको थियो । सुनसरी, मोरङ, झापामा चारकोसे जंगल मासेर बस्ती बसाउने कामलाई झोडा फाँड्ने भनिन्थ्यो । पञ्चायन झोडा, महेश्वर (शान्ति) झोडा, रमाइलो झोडा, कुल झोडा, इन्द्र झोडालगायत दर्जनौ झोडा कार्यक्रम चलेका थिए । सयौ मानिसको यस्ता झोडा काण्डमा ज्यान गएको थियो । सरकारले हात्ति लगाएर घर भत्काउने, सर्वसाधारणलाई गोलीको सिकार बनाउने सामान्य कुरा थियो । यस्तै झोडा काण्डमा कांग्रेसका पूर्व मन्त्री दिवानसिंह राइको पनि हत्या भयो । यस्ता झोडा फँडानीको नेतृत्व गर्नेहरु पहाडेमूलका हुन्थे । त्यसमध्येका एकजना धनकुटा त्रिसुलेका इन्द्रबहादुर राई थिए । यिनले नेतृत्व गरेको फडानी स्थानलाइ इन्द्र झोडा नामले चिनिन्थ्यो । यस्ता नेतालाइ झोडे नेता भनिन्थ्यो ।

फेरी उही प्रसंग :

यसै मेसोमा यहाँ अध्यक्ष र संयोजकको प्रसंग जोड्ने छु । निकै अगाडिको तिनै झोडे नेता इन्द्रबहादुर राइको बारेमा एउटा रमाइलो प्रसंग घटित भएको कुरा यहाँ सम्झना गराउन चाहान्छु । कुरो बहुदलीय कालखण्डको हो । कांग्रेस र एमालेले प्रतिष्पर्धा गदै राप्रपाका लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका थिए । थापा प्रधानमन्त्री भएको बेलामा सुकुम्बासी समस्या समाधान आयोगमा धनकुटाका उनै झोडे नेता इन्द्रबहादुर राईलाइ संयोजक बनाएका थिए । राई पञ्चमात्र थिएनन सूर्यबहादुर थापाका मित पनि भएकोले उनले यो पद हासिल गरेका थिए ।

नियुक्ति भएकै दिन जस्तो लाग्छ, नियुक्ति पत्र बुझेर बागबजारको (खसी बजार)मा उभिरहेका रहेछन । म पनि कुनै कामले त्यता गएको थिएँ । उनले मलाइ देखे र बोलाइ हाले, ‘हाव साँइला (गाउँमा मलाइ बोलाउने दर्जा) एता आउ संगै चियाखाजा खाउँं ।’ म तिनछक्क परेँ । नमस्कार, सेवारो गरेँ । छक्क यसमानेमा की इन्द्रबहादुर साह्रै लोभी थिए । कसरी यिनले चियापान गराउँछन भन्दै गमेँ । उनले सरासर एउटा मोमो पसल छिराए र दुई प्लेट मोमो अर्डर गरे । मोमो नआउन्जेल मलाइ एउटा कुरा सोध्ने र त्यो कुरा गोप्य राख्नु पर्ने कसम खुवाए । मैले सहजै हुन्छ भने । यतिकैमा मोमो पहिलो गाँसमात्र हालेको थिएँ, उनले लामो लेघ्रो हालेर सोधे, ‘हाव साँइला अध्यक्ष र सं.म्.म्.म्.मयोजकमा के फर फारक छ ?’

राई आयोगको संयोजक भएको थाहा पाएकै थिएँ । अध्यक्ष र संयोजकको मामिलामा किन टाउको दुखाउने भनिकन भन्दिएँ, ‘एउटै कुरा हो दाजु फिकर नमान्नुस ।’ मैले अनेक अर्थ लगाएर टाउको दुखाउन चाहिन । यसैपनि भोकाएको बेला मोमो खुवाएकै थिए । अनेकान फुँदा जोडेर उनलाइ हिस्स किन बनाउनु ? तर उनले फेरी लेघ्रो तानेर प्रश्न तेर्स्याए, ‘तर मिताले अध्यक्ष नभनेर सं.म्.म्.म्.मयोजक चैं किन लेखेको होलान ?’ मैले यो प्रश्नको जबाफ अलिक रफु गरेर भन्दिएँ, ‘कांग्रेसीको आँखी लाग्छ भनेर अध्यक्ष नलेखेर तपाइको मिताले जानेरै संयोजक लेखेको हो दाजु । तर काम दुवैको एकै हो ।’ यति सुने पछि लामो सास फेर्दै भने, ‘हो र हाव साँइला ! तर तिमी पत्रकार पनि हउ, कुरा अलिक त पत्याएँ । बाहिर फेरो चैं इन्द्रेले यस्तो उस्तो सोध्यो भनेर नभन्नु, कतै नलेख्नु पनि ।’ मैले टाउको हल्लाएँ । यी दुई पात्र यो लोकमा छैनन । यसर्थ यो गुम्सेको भँडास निकाल्ने मौका मिल्यो ।

तर यो लेखोटमा अध्यक्ष र संयोजकको अर्थ भ्रष्ट भैसकेको छ । गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ भने जस्तै । दुई शब्दको कार्यकारी अर्थ आफ्‌नो शब्द कोस अनुकुल लगाउने हो । अध्यक्ष भनेको संयोजक पनि हो, किनभने संयोजकलाइ अध्यक्ष पनि भनिन्छ । अध्यक्षनै नहुँदा संयोजक पनि त त्यस्तै उस्तै अध्यक्ष हो । चुरेरो ।

तपाईको प्रतिक्रिया