
मिति : कालो कात्तिक
स्थान : गोल खाडी
सुपारी टार सैनिक बासपछि पहिलो पटक पुत्रकार झम्मेलनमा ढिलो गरी झुल्किएका “बा” स्टेजमा चढेर बसीबसी सम्बोधन गर्न सुरु गरे ।
“यो कार्जेक्रममा मसँगै उपरखुट्टी लाउने हाम्रो कौरवशाली पार्टी वामालेका नारद मुनी प्रमुख ता कपरे तिवारी नत्र गोतामे, मेरो दायाँतर्फ बस्ने गोबर गनेश पाँडे, बायाँतर्फ बस्ने सुली गनेश काजी र उखान सुन्न आउने लेखनदास, चित्रकार भेसभुसाका पत्रुकारहरु ।
दायाँ बायाँ पुत्र द्वय गोबर गनेश र सुली गनेश बसेकाले आज म फेरी शिवको भूमिकामा छु भन्ने लाग्या छ । म नै खाँटी शिव रहेछु बेकारमा हलेसोकी चाम्लिङ राईलाई झुक्यानमा यो पगरी बाँडेछु । बेला कुबेला पुत्र द्वय गणेशले यसपछि मैले बोलेका नबोलेका उद्रेका कुराहरू रफुगरी टालटुल गर्ने जिम्मेवारी तोक्दछु ।
मैले आज आफ्नै कुरा तिमेर्लाइ सुघाउँ छु । तिमेर्का लैबरी भाका सुँघ्ने मेरो समय छैन । ठगी खाने भाँडो बोकेका लैना पाडा-पाडीले हा-हु गरे । दुई दिन लीला तमासा देखाउँदै थिए । मलाइ चिल गाडी चढाएर बन्दूकेहर्ले बालुवाटारबाट पाखी ओढाएर सुपारी टार पुर्याए । मेरो हाते फुन पनि खोसी दिए । मैले त “कर्केनी” बजै “मुखेनी” भइसकेपछि थाहा पाएँ ।
म यो जेन्जी भन्ने जान्दै जान्दिन, मान्दै मान्दिन । पाडा-पाडी, बाछा-बाछी, पाठा-पाठी, छाउरा-छाउरी आदि थाहा छ । जेन्जी कसरी यो लोकमा आउँछन् मलाइ थाहै छैन । मेरा घराँ अल्फा, जेन्जी भन्ने नै छैन अनि कसरी थाहा पाउनु ? “नेपो बेबी” अरे धत् ! कहाँबाट आए यो हिमबतखण्डमा म्लेच्छका सन्तानहरू ? कतै एलियनका सन्तान त हैनन् ?
“बा”ले थप एकोहरो भट्ट्याउँदै गए, “म बुढो भाकै छैन । मकैका जुँगा जस्तै छन् मेरा जुँगा पनि । केस फुल्दैमा बुढो हुने भए खैरेहरूको सानैमा सेतै कपाल हुन्छ त । के ती पनि बुढाबुढी हुन ?
अम्रिकाने ट्रम्प, बंगाली युनुष, भारतेली मोदी म भन्दा जेठा छन् । रसियाका अर्थोडक्स पुटिन म भन्दा सात मैना मात्र कान्छा छन् । अनि मैले मात्रै बेत बस्नु पर्ने ? वामालेमा “बा” छैन भने के हुन्छ ? बोका माले ? बोकाले दाईँ हुँदैन । यसैले म रहिन्जेल, सुर्जे-चन्द्रे भइन्जेल कोही माइकलालले नचिह्याउनु ।
म त टिम क्याप्टेन हुँ । क्याप्टेनले प्रतिस्पर्धा छोड्नु हुँदैन । पाँच फिटको पोथ्रापोथ्री सजिलै नाघी दिन्छु । हाई जम्प लङ्गसम्म त मेरा लागि केही होइन । लङ्ग जम्प गर्छ की भनेर होला मेरो विदेश जाने टिकस “कर्केनी बजै”ले खोसी दिएकी छिन रे भन्ने सुन्छु । कहिले काहीँ मेरा जिउमा पाहुना लागेका किड्नीहरूले काम नदिँदा छेरौटी लाग्न सक्छ । अतः विदेशमा गएर ओखतीमूलो गर्नु पर्ने हुन्छ । तर बजैले ओखतीमूलो गर्न पनि नदिने अमानवीय हर्कत देखा कि छिन । मैले के के न खाएँ भनेर आयोग बनाएको छ रे ! एक त मेरो जिउले खाकै पचाउँदैन । त्यहीमाथि खायो भनेर कोकोहोलो मच्चाएका छन् । नखाको कुरा खाएँ भन्दै लुरुलुरु त्यो जुँगे कार्कीको बोगस आयोगमा गएर बयान दिन्न । कर्केनीको चुनाउ-सुनाउमा पनि भाग लिन्न । लु जा त ।”
यति भनेर “बा” पुत्रकार झम्मेलनबाट उठ्न खोज्दै थिए । दर्शक दीर्घाबाट एउटा झ्यापुल्ले पत्रुकारले सोध्यो, “जेन्जी आन्दोलन पछि पनि तिम्रो घमण्ड गएको छैन ?”
“बा”ले जाँदाजाँदै अरुण थापाको गीती भाकामा स्वर मिलाइ जबाफ खापे,
“जेन्जी के हो ? हा-हु के हो ?
म जस्तो घाइतेलाई नसोध
घमण्ड के हो ? कोक-फेण्टा के हो ?
तिम्रा “बा”लाई कहिल्यै नसोध ।”




