डाक्टर के. आई. सिंह :
#डाक्टर के. आई. सिंहको फुल नाउँ कुँवर इन्द्रजीत सिंह हो । वि.सं. १९६३ मा डोटीमा जन्मेका डा. सिंह नेपालको २० औं प्रधानमन्त्री हुन ।परिवारसंगै सानैमा यिनी म्यानमार (बर्मा) पुगे । बर्मामा रहँदा बस्दा आयुर्वेद चिकित्सा सिके । सामान्य ओखतीमूलो गर्न जान्ने भएपछि बोलीचालीको भाकामा उनी डाक्टर कहलिन थाले ।चिकित्सा विज्ञान वा अन्य कुनै विषयको औपचारिक शिक्षा लिएर डाक्टर भएका भने होइनन् ।
बर्मा छोडेर नेपाल आए । सात साले क्रान्तिमा भाग लिन यिनी नेपाल आए । मुक्ति सेनाको पश्चिम कमाण्डर यिनै थिए । भैरहवा कब्जा यिनकै कमाण्डमा भएको थियो । सातसाले क्रान्तिपछि दिल्ली सम्झौता धोका भन्दै विद्रोहमा उत्रिए । भारतीय सेनाको सहयोगमा गिरफ्‌तार गरी सिंह दरबारमा सिंहलाई कैद गरियो । मुक्ति सेनाको सहयोगमा ८ माघ २००९ सालमा सिंह दरबार नै कब्जा गरे । यसपछि पूर्वका क्रान्तिकारी नेता लेफ्‌िटनेन्ट रामप्रसाद राईसंगै चीन भागे । राईको चिनमै रहस्यपूर्ण मृत्यु भयो । विसं २०१२ भाद्र २७ गते राजा महेन्द्रले सिंहलाइ माफी दिए । यसपछि नेपाल फर्किए । उनै सिंहलाई राजा महेन्द्रले विसं २०१४ साल साउन ११ गते प्रधानमन्त्री नियुक्त गरे । सिंहले ११ सदस्यीय मन्त्रीमण्डल गठन गरे । यिनको मन्त्री परिषदमा बेलायती सेनाका कुलबहादुर लिम्बूलाई स्वास्थ्य मन्त्री नियुक्त गरे । यो मन्त्री परिषदमा शिक्षामन्त्रीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि नियुक्त भएका थिए । एकजना बन्दूके लाहुरे र अर्का कलमे कवि देवकोटा मन्त्री हुनु पनि रमाइलो प्रसंग हो ।
केही समयपछि राजाले यिनको मन्त्री परिषद विघटन गरे । यो मन्त्री परिषद २०१४ कार्तिक २९ गतेसम्म रह्यो । ९३ दिन यिनी नेपालको प्रधानमन्त्री भए । सिंहको मृत्यु विसं २०३९ साल असोज १९ गते थाइलेण्डमा भयो ।
#कुलबहादुर लिम्बू :
#अर्का जुँगे बुढा हुन कुलबहादुर लिम्बू । सिंहको मन्त्री परिषदमा स्वास्थ्य मन्त्री भएका थेबे थरका लिम्बू ताप्लेजुङ (सिनाम, थेचम्बू)मा जन्मे । बेलायती सेनामा भर्ति भएर गोर्खा मेजर दर्जामा सेवा निवृत्त भए ।लिम्बूको बारेमा धेरै जानकारी थेबे बंशावलीमा मात्र प्राप्त होला ।यिनको बारेमा जानकारी लिन कठिन छ कारण यिनको परिवार तितरवितर भैसकेको छ ।
#लिम्बूका दुई छोराहरु थिए । सम्भवतः छोरीहरु पनि थिए होलान । जेठो छोरा श्री सुब्बा हुन । कान्छो छोरा लक्ष्मण सुब्बा । लक्ष्मण सुब्बा नेपाल सरकारको निजामती कर्मचारी थिए । विभिन्न पहाडी जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरे । काठमाण्डुमा घरजम गरेर बसेका सुब्बाको निधन धेरै अघि भयो ।
#जेठो छोरा श्री सुब्बा धरान स्थित बृटिष गोर्खा डिपोमा प्रोक्रुरमेण्ट (लेटिन भाषाको शब्द जस्को अर्थ नेपालीमा खरिद गर्ने विभाग भन्ने बुझाउँछ) विभागमा लामो समय अफिसर भएर काम गरे । बाबु कुलबहादुर लिम्बूले बनाएको धरान १२ को घरलाइ सिँघारेर स्विमिङ पुलसहीत अत्याधुनिक र सुन्दर बनाए । मधेसमा खेतीपाती जोडे । परिवारको लागि सम्पन्नताको आधारशिला नै खडा गरिदिए । यिनको दिनकर सुब्बा नामका छोरा थिए । यिनी केही वर्ष अगाडिदेखि इसाइ मेसिनरीमा लागेर धरानबाट पलायन भैसकेका छन । र यो घर पनि बेबारिसे भैसकेको छ ।
#दुई जुँगेको भेट :
यी दुई जुँगे बुढाको कहाँ भेट भयो पत्तो छैन । सम्भवतः लाहुर रहँदानै कतै चिनजान भेट भएको हुन सक्छ । भनिन्छ दुबैको दोस्ती गाढा थियो । खुबै मिल्ने तँ स्तरको साथी । लाहुरबाट छुट्टीमा आएको समयमा यिनलाइ मन्त्री बनाइयो । एक दिनको कुरा हो लिम्बूले प्रधानमन्त्री सिंहलाई मन्त्रीको तलब भत्ता सोधेछन । सिंहले तलब सुविधा बताइ दिएछन । लाहुरमा हुँदाको भन्दा कम सुनेपछि उनले त्यहीँ राजिनामा दिएर पुनः लाहुर ज्वाइन गरे रे । यिनका बारेमा यस्ता अनेकान किस्सा छन् । राजाले मन्त्री नियुक्त गर्दा पनि जानेकी नजाने भनेर छिमेकामा भएका रिजाल बाहुनलाइ सोधेर निर्णय गरे रे । मन्त्री नियुक्त गर्दा कुलबहादुरलाइ खोज्न पुलिस नै पठाउनु परेको थियो रे । तर पुलिसले त्यस्तै नाम मिल्ने अर्को लिम्बूलाई पक्रेर लगेछ । तर वास्तविक कुलबहादुर नभएपछि उसलाइ फिर्ता पठाइयो रे । पछि छिमेकी रिजाल बाहुन कै सल्लाहमा सरकारको सम्पर्कमा गएछन र मन्त्रीको सपथ लिएछन ।
#धरानमा बस्ने जेठा छोरा पनि उस्तै सन्की स्वभावका थिए । बहुदलीय व्यवस्थाको पुनस्थापना पछि दरबारले पुराना दरबारियालाई सम्झना गर्न थालेको थियो । यस्तैमा एक दिन दरबारबाट रजिष्टर गरि पठाएको दशैंको शुभकामना पत्र लिएर घरमा बुझाउन हुलाकी आएछ । खाममा मन्त्री कुलबहादुर लेखिएको थियो । तर उनले आफ्‌नो बाबुको नाम पेन्सन पट्टामा कुलबहादुर थेबे लेखेको हुनाले आफ्‌नो बाबुको पत्र नभएको जिरह गरेछन । हुलाकीले ठेगाना मिलेकोले लिनै पर्छ भनेर जिद्धि गरेछन । यतिकैमा सुब्बाले घरभित्र छिरेर बन्दूक निकालेर हुलाकीलाइ ताकेछन । विचरा हुलाकी बालबाल पर्खाल नाघेर भागेछ । तर यो घटना हुनु धेरै अघि कुलबहादुरको मृत्यु भैसकेको थियो । सम्भवतः बेलायतको जागिर जोगाउन उनले मन्त्रीमा लिम्बू थर लेखेको पनि हुन सक्छ । कुलबहादुरको बारेमा यस्ता अनेकान रमाइला चुडकिला धरानमा सुन्न पाइन्छ । कतिपय किस्सा यहाँ लेख्न मुनासिव हुँदैन । ती किस्साहरु अलिबढी मांसहारी प्रकृतिका छन ।
यसैपनि लिम्बू समुदायका व्यक्तिलाइ जिस्काउने उडाउने अनेक किस्सा बनिबनाउ छन, बनाइएका छन् । यस्ता कुरा गाउँघरमा सुन्न पाइन्छ । यिनको बारेमा पनि यस्तै भएको हुन सक्छ । अल्पसंख्यक सिमान्तकृतलाइ होलोहोचो गर्ने अनेक चुट्किला छन । जसरी भारत वर्षमा पञ्जावी समुदायलाइ उल्याउने अनेक मजाकहरु सुन्न पाइन्छ ।
#यस्तै सिंहको बारेमा पनि रमाइला प्रसंगहरु जोडिएका छन । प्रधानमन्त्री नियुक्त भएपछि राजा महेन्द्रलाई देशका भष्टाचारी उन्मुलन गर्ने योजना सुनाएछन । राजाले पनि सहमति दिए । सिंहले मूख्य सचिवलाई बोलाएर देशभरका भ्रष्ट कर्मचारीको लिस्ट तयार गर्न अह्राएछन । केहि समय लगाएर दुइ सय जना भ्रष्ट कर्मचारीको नाम नामेसी सचिबले ल्याएछन । सिंहले #यस्तै सिंहको बारेमा पनि रमाइला प्रसंगहरु जोडिएका छन । प्रधानमन्त्री नियुक्त भएपछि राजा महेन्द्रलाई देशका भष्टाचारी उन्मुलन गर्ने योजना सुनाएछन । राजाले पनि सहमति दिए । सिंहले मूख्य सचिवलाई बोलाएर देशभरका भ्रष्ट कर्मचारीको लिस्ट तयार गर्न अह्राएछन । केहि समय लगाएर दुइ सय जना भ्रष्ट कर्मचारीको नाम नामेसी सचिबले ल्याएछन । सिंहले त्यो लिस्टको एक नम्बरमा मूख्य सचिवको नाम राखेर दुइ सय एक जनाको लिस्ट सिफारिस गरेर स्विकृतिका लागि दरबार पठाएछन । दरबारले स्विकृति दियो । मूख्य सचिवसहीत सबैको जागिर गयो । यस्तैमा मूख्य सचिवले सिंहलाइ म कसरी भ्रष्टचारी भएँ भनेर सोधेछन । सिंहले भ्रष्टचारी थाहा पाउने तँ पनि भ्रष्ट होस भनेर जवाफ दिएछन ।
#गणेशमान सिंह र केआइ सिंहबीच पनि सृङखलाबद्ध रमाइला प्रसंगहरु त्यत्तिकै छन । गणेशमान केआइ सिंहलाइ कपाउण्डर मात्रै हो डाक्टर होइन । उसले विरामी निको पार्न सक्तैन भनेर सार्वजनिक भाषणमा भन्थे रे । सिंह पनि के कम उनी पनि सभामा खुलेआम यसो भन्थे रे, ‘त्यो सौचालयमा छिरेर भाग्ने पनि कतै सिंह हुन्छ र ? त्यो त ज्यापु टोलको स्याल हो । म वास्तविक सिंह हुँ, सिंह दरबार कब्जा गर्ने सिंह हुँ ।’ यस्तै यस्तै ।
#यी दुबै जुँगे बुढा यो लोकमा छैनन । तर यिनबाट सिर्जित रमाइला प्रसंगले महफिल जमाउँछ । यी पुराना नेतालाइ सम्झने रमाइला रंगीन रसरंगहरु छन् । आजका नेता त रामरमिताका पात्रसम्म बन्छन, बन्दैनन् आउने कालखण्डमा ।

 

तपाईको प्रतिक्रिया