- भवानी बराल

आम निर्वाचनको समय थियो । घटना बहुदलीय व्यवस्था कालखण्डको हो । आम निर्वाचनमा कांग्रेस र कम्युनिस्ट (खासगरी एमाले)बीच देशव्यापी चर्को प्रतिस्पर्धा थियो । सभा, सम्मेलन, कोणसभा,घरदैलो,चोक,चौतारोमा एक अर्का पार्टी विरुद्ध पाँडे तर्क दिएर होच्याउनु सामान्य राजनीति थियो ।

यस्तै एउटा कोणसभालाई सम्बोधन गर्न एकजना कांग्रेसी नेता मञ्चमा चढेर भाषण गर्न थाले, ‘कम्युनिस्ट भनेको कुराउनी हो, कांग्रेस भनेको गुन्द्रुक ।’ यतिमात्र भन्न के भ्याएका थिए, त्यहाँ रमिता हेर्न आएका कम्युनिस्ट समर्थकले गडगडाहट ताली बजाए । कम्युनिस्टलाई मिठो व्यञ्जनसंग तुलना गरेकोमा ती हर्षित थिए ।त्यो पनि विरोधी दलका नेताको मुखबाट मिठो बचन आएको बखत ।

आफ्नै नेताले गुन्द्रुक जस्तो होलोहोचो व्यञ्जनसंग पार्टीलाइ जोडेको सुन्दा उपस्थित कांग्रेसी हेरेको हे¥यै भए । यसपछि भने नेताले सविस्तार व्याख्या गर्न थाले । उनले भन्न सुरु गरे, ‘कुराउनी कुहिँदा त्यो मान्छेको मलमुत्र जस्तै हुन्छ । खाने त कुरै छोडौं हेर्न पनि घिन लाग्छ ।

नेपालका कम्युनिस्ट सडेको कुराउनी हुन । गुन्द्रुक अलिक सडियो भनेपनि सुकाएर, केलाएर खान मिल्छ ।’ कांग्रेस र कम्युनिस्ट चिनाउने सटिक तर्क सुनेपछि उपस्थित कांग्रेसी जनको हाँसोको फोहरा छुट्यो । फेरी गडगडाहट ताली बज्यो ।यो कुनै बनिबनाउ कथा होइन । नेताको नाम नबताउने शर्तमा यहाँ उल्लेख गरिएको हो । अहिले पनि ती नेता कांग्रेस पार्टीको उपल्लो दर्जामा छन् । सम्भवतः उनले यी हरफ पढ्न पाए भने उनलाइ बोलेको हेक्का हुँदो हो । कांग्रेसलाइ उजिल्याउने र कम्युनिस्टलाई खुइल्याउने मामिलाका तुक्का हान्नेमा उनले महारथ नै हासिल गरेका थिए ।
त्यही सभामा कांग्रेसलाई उजिल्याउन तीनैले अर्को तर्क तोपेका थिए, यसरी ‘कांग्रेस भनेको हाँस हो । कम्युनिस्ट भनेको कुखुरो । हाँसले हल्लाखल्ला नगरी चुपचाप ठूलो अण्डा पार्छ । कुखुरा धेरै होहल्ला गर्छ तर सानो अण्डा पार्छ । कम्युनिस्टले जितेभने ठूलाठूला ड्रममा भात पकाउँछन र घण्टी बजेपछि थाल बोकेर भात थाप्न जानु पर्छ । यस्तै अनेक रमिता देखाउने तर्क गर्थे । कम्युनिस्टले ६० वर्ष पुगेपछि बुढाबुढीलाई मार्छ भन्ने तर्क खारेज भएपछि झुक्याउने अरु तुरुप उनले यसरी झिकेका हुनन् ।

उनले यस्ता तुक्का र रमाइला फुँदा जोडेको असंख्य भाषण गरेका छन । यसमध्ये कुराउनी र गुन्द्रुकवाला यहाँ सन्दर्भ मिलेर आएकोले उल्लेख गर्न खोजिएको हो ।
गएको साउन दुई गते राजधानीमा नेकपा (एकीकृत समाजवादी) र वामदेवकृत नेकपा एकता अभियान पार्टी एकीकरण घोषणा सभा हुँदै थियो । नेकपा (एस) पार्टीका अध्यक्ष माधव नेपालले यस्तै आसयको विचार व्यक्त गरे । सभामा उनले सगौरव भने, ‘कम्युनिस्टहरु विग्रिए भने साह्रै नराम्रो गरी विग्रन्छन ।’

नेपालले कुराउनी कै प्रसंग त झिकेनन तर उनको आसय तिनै कांग्रेसी नेताको भाषणबाट धेरै हद प्रभावित थियो । अर्थात कम्युनिस्ट विग्रिए, सडिए भने कुराउनी जस्तै हुन्छन ।
कम्युनिस्ट नेताहरु नसप्रिएको, सच्चिन बेला कुबेला कस्सम खाँदै आएको सुनिएकै हो । को कति सच्चिए वा सप्रिए त्यो आफ्नो ठाउँमा मूल्याङ्कन होला नै । कसैले पनि विग्रिसकेको दावी नगरेको सन्दर्भमा नेपालले यो वाक्य बोल्नु पर्ने जरुरत किन प¥यो ? एकीकरण सभामा बोल्नु पर्ने त्यहाँ सन्दर्भ पनि थिएन । तर ताली गडगडाहट आयो । बुझेर ताली पड्काएका हुन या नेताले बोलेपछि औपचारिकता पुरा गरे हुन कार्यकर्ताले जान्ने कुरा भयो ।
आखिर नेपालले बोलेको यो वाक्य कसप्रति लक्षित छ ? नेपालसंग कुरा गर्दा पनि मुख कुल्ला गर्न मन लाग्छ भन्ने एमालेका सुप्रिमो केपी ओलीलाइ भनेका हुन की ? पक्कै पनि मरिसकेका डाक्टर केशरजंग रायमाझीलाई भनेका अवश्य होइनन होला । मनमोहन अधिकारी र पुष्पलाललाई भन्ने कुरो भएन । जिवित अरु सबै कम्युनिस्ट नेताहरु नेपालले भने जसरी विग्रिएको स्विकार्दैनन । आफ्ना ठाउँमा सबैले सप्रिएको, सच्चिएकै ठान्छन । विग्रिसकेको विल्कुलै ठान्दैनन् ।
प्रसंग नेपाल कै हो । हालसालै उनी पतञ्जली जग्गा घोटाला प्रकरणमा ३५ लाख धरौटीमा छुटेका आरोपी हुन । बालुवाटार जग्गा प्रकरणमा पनि उनको नाम जोडिएकै छ । आफै यस्ता संगीन मामिलामा जोडिएको बेला किन यस्तो बाँणी झारेका हुन ? विग्रिएको परिभाषा भित्र यस्ता काण्डहरुसंग जोडिएका पात्रहरु पर्दैनन की ? उनकै पार्टी की नेतृ रामकुमारी झाँक्रीले नेपाललाई सडेको कुराउनी भन्दा पनि तल झरेर ‘सिनो’संग तुलाना गरिन । कतै झाँक्रीलाई नै विग्रेको अर्थमा लिएका त हैनन ? उनले उठाएको प्रश्नको उत्तर खोजेर नभेटिने अर्थको हुन गयो ।
वर्तमान सन्दर्भमा कम्युनिस्टहरु विग्रनु र नविग्रनुको कुनै अर्थ छैन । विग्रे नविग्रेको मापन गर्ने कुनै तुलो तराजु छैन । तर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारी बाहेकका कम्युनिस्ट पार्टीका नेताले असुली धन्दा गरेको माक्र्सवादी अध्ययन केन्द्रले राखेको कार्यक्रममा बताएका थिए । तर यो कुराको प्रतिवाद गर्दै माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले लेखे, ‘राजनीतिमा लागेर ज–जसले अकुत सम्पत्ति थुपारे उनीहरूले नै सम्पति छानविनको माग गर्नु जस्तो वेइमानी अरु के होला !?’ स्वयम् एमाले अध्यक्ष केपी ओलीले ‘भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न’ भनेर बारम्बार भन्छन ।

तर उनको कार्यकालका कुनै पनि मन्त्रीपरिषद भ्रष्टाचारको आरोपबाट मुक्त रहेन । तर आफुतिर तेर्सिने औंला अन्यत्र मोड्न सहकारी अपचलनमा मदन भण्डारीलाई पनि लपेटे । होस नहोस चारवटी श्रीमतीको भण्डारी उपर सांस्कृतिक विचलनको वात पनि लगाए । यदि यसो हो भने सबै कम्युनिस्ट नेता भ्रष्टाचारको बर्को ओडेर सदाचारको मालश्री गाउँदा रहेछन भन्ने बुझ्नु प¥यो । गुलजारले लेखेको शायरी झैं ‘आओ पहनले आइने, सारे देखेंगे अपना ही चेहेरा ।’ अर्थात सबैले ऐना सरहको कपडा लगाए सबैले आफ्नो असली रुप देख्ने छन ।
कुनै नेतालाई शुद्धाधि–शुद्ध विशुद्धको प्रमाण दिने परीक्षण प्रणाली पनि छैन । कुनै न कुनै कम्युनिस्ट नेता भ्रष्टाचार, तस्करी, अनियमिततासंग नजोडिएको भेट्न मुस्किल छ । यतिमात्र होइन मानव तस्करीसंग पनि आरोपित छन । सांस्कृतिक विचलनमा आरोप खेपेका त्यत्तिकै छन । नूनदेखि सुनसम्म चेलीबेटी मानव बेचविखन सम्म । यस्तो लाग्छ कतिपय कम्युनिस्ट नेता अवसर नपाएर विग्रनबाट जोगिएका छन् । भ्रष्टाचार गर्ने मेलो नजुरेर भ्रष्ट हुनबाट जोगिएको भाष्य निर्माण भएको आम भनाइ छ । बहुदलीय व्यवस्था वा त्यस अघिदेखि शासन सत्तामा रहेका प्रतेक नेता उपर छानबीन हुनु पर्ने भाषा यतिकै उठेको होइन ।
आजभोली पार्टीका नेताको भाषण, अन्तरवार्ता पत्रिका, रेडियो र काँचका पर्दामा कमैले सुन्छन, हेर्छन, पढ्छन । सुने, पढे या हेरि हाले भनेपनि तिनले बोलेको कुराको नकारात्मक अर्थमात्र निकाल्छन । नेताले बोल्ने बाँणी र तिनले अख्तियार गर्ने व्यवहारबीच तालमेल नहुनाले यस्तो भाव प्रकट हुनु सामान्य हो । नेताहरु यो विषयसंग बेखबर छन् । उनीहरु आत्ममुग्धता दूव्र्यसनको सिकार भएकोले यस्तो हुन गएको हो ।
कम्युनिस्ट नेतामात्र विग्रेको, भ्रष्ट भएको अर्थ नलागोस । लाउडा, धमिजा, चेज एयर हुँदै वाइडबडी, गिरिबन्धु, बालुवाटार, टिकापुर, भूटानी शरणार्थी, भिजिट भिसा अनेक प्रकरणमा अनेक नेताको सहभागिता नाङ्गो आँखाले देखिएकै छ । खुमबहादुर, गोविन्द राज, विजय गच्छेदार हुँदै बालकृष्ण खाँड र टोपबहादुरसम्म डामिएकै छन । सहकारी अपचलनमा अदालतबाट समन पूर्जी जारी भएका र डामिएकाहरुको समेत जोड्दा लामै फेहरिस्त हुन्छ । फरक यति हो ठूला दलका भ्रष्टहरु धेरै छन, साना दलका थोरै । ति कांग्रेसी नेताले भनेको जस्तो कांग्रेस कुहिएको गुन्द्रुक र कम्युनिस्ट मात्र सडेको कुराउनी हुँदै होइन । तर नेता नेपालले देखेको विग्रेको कम्युनिस्ट को हो ? र, सप्रेको वा सच्चिएको कम्युनिस्ट चैं कस्तो हुँदो हो ?

तपाईको प्रतिक्रिया