
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाँइको पहाड घर कहाँ हो ?’ त्यसपछि, ‘आफु कस्मा ?’ भनेर जात–विरादरी सोध्छन या सोध्लान । पहाडमा पुख्र्योली थातथलो भएकाहरुबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आम वाक्य हो ।जसरी उपत्यकाका रैथानेहरु समयअनुसार तपाइले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो ।
राष्ट्रको परिभाषा :
पछिल्लो पटक नेपालको संविधानले नेपाल राष्ट्रको परिभाषा ‘बहु–जातीय, बहु–भाषिक, बहु–धार्मिक, बहु–सांस्कृतिक विशेषतायुक्त’ भनेर परिभाषित ग¥यो । बहु–भौगोलिक भनेर गरेन, नेपाली समुदायको बहु–जनसांख्यिक विविधतालाई सम्बोधन ग¥यो । तर नेपाल राज्यको नयाँ संघीय इकाहरु निर्माण गर्दा वा राज्यको नयाँ रचना गर्दा परिभाषा अनुसार गरिएन । यसैले आजपनि प्रदेश नं १ मा पहिचानको आधारमा नामाकरणको माग भैराखेको छ । त्यहाँ १४ जिल्लाको गणितीय भूगोललाइ प्रदेश बनाइयो र ‘कोसी’ नामाकरण गरियो ।
कोसी नामाकरण पहाडे खस नश्लको कथित गोत्रको हवाला दिएर गरेकोमा अन्यथा लिइरहनु पर्दैन । यो नामले न त मधेस–तराईका रैथाने न नै थातथलो खुलेका आदिवासी जनजातिको पहिचानलाइ सम्बोधन गर्दछ । पहाडमा बस्ने एक खास नश्लको किम्बदन्तीमा आधारित गोत्रको परम्परागत पहाडे राष्ट्रवादलाइ निरन्तरता दिन पञ्चायतले राखेको कोसी नामलाइ ठप्पा लगाइ दियो । यस्तो ढोंगी राष्ट्रवादको राजनैतिक खेती फस्टाएपछि बर्षौं पर्देसिएका पहाडेहरुको भेट हुँदा भन्ने नै भए, ‘तपाँइको पहाड घर कता हो ?’
पञ्चायती धङधङी :
पञ्चायतले पछिल्लो पटक राष्ट्रियताको एउटा भाष्य निर्माण गरिदिएको छ । त्यो भौगोलिक राष्ट्रियता हो । पूर्वी पहाडको राष्ट्रियता अब वल्लो किरात, पल्लो किरात र माझ किरात वा लिम्बुवान रहेन । समग्र पहाडि मूलको भौगोलिक राष्ट्रियता बन्यो । सोलु, ओखलढुंगा, संखुवासभा, ताप्लेजुङ आदि बन्यो । यसैले हिमालमा बस्नेहरु पनि पहाडि जिल्लाका नामले चिनिने भए । तराइमा त मिथिला, भोजपुरा, अवध हैन सुनसरी, मोरग सप्तरी धनुषा आदि नामका भए । पहाडि राष्ट्रियतालाई स्थापित गर्ने मनोविज्ञान अन्तर्गत हिमाल र मधेसलाइ विस्थापित गर्ने योजना हुनसक्छ । यसैले तराइ वा हिमालमा बस्नेलाइ उसको वतन सोध्ने चलन छैन । नेपाली राष्ट्रियताको अन्तर्य यहि हो । त्यसैले पहाडियाहरु पूर्व पश्चिम जहाँका हुन तिनले भेट्दा पहिलो थेगो हुन्छ, ‘तपाँइको पहाड घर कहाँ हो ?’
नेपालको यो आधुनिक स्वरुप बन्नु भन्दा अघि पनि नेपाल थियो । किरात, लिच्छवी, मल्लकालमा पनि वर्तमानको नेपालको करिव यही स्वरुपको समग्र नाम नेपाल हो । भलै त्यहाँ भित्र बाइसी, चौविसी, उपत्यकामा तीन र उपत्यका पूर्व तीन गरी ५२ गणराज्यहरु किन नहुन । तिनै गणराज्यहरुको ऐतिहासिक स्वरुप आधुनिक नेपालको इतिहास हो । तर, एकत्रित स्वरुपको राज्य विस्तार गर्ने काम पहाड गोर्खा राज्यले ग¥यो । यसैले धेरैले संकेत गरेझैं नेपाली राष्ट्रियताको निर्माण त्यही पहाडले ग¥यो । पहाड र पहाडियाले निर्माण गरेको राज्य र राष्ट्रियतामा अन्यले अपनत्व ग्रहण गर्न नसकेको हो ।
नेपाली राष्ट्रवादको चुरो नेपालको ‘एकीकरण’ वा ‘गोर्खा राज्यको विस्तार’ दुई कुराको छिनोफानो नहुञ्जेल तर्कतरंग चलिरहन्छ । पहाड त वर्तमान राष्ट्रवादको मूख्य धमनी हो, जहाँबाट रक्त सञ्चार भैरहन्छ । अमिवाको न्युक्लियस र त्यसलाई सघाउने प्लाज्माहरुको नियति यस्तै हुन्छ भनेर उदाहरण दिनु यहाँ सटिक हुन्छ । हिमाललाइ नजरअन्दाज गर्ने र मधेसलाइ परहेजमा राख्ने राष्ट्रियताको राग आउन्जेल भेटघाट हुँदा भन्ने नै भए, ‘साँची तपाईको पहाड घर कता हो ?’
फूल, पशु–पंछी राष्ट्रिय ?
राष्ट्रिय फूल लाली गुँरास, राष्ट्रिय पंछी डाँफे उच्च पहाडि र हिमाली भेगमामात्र पाइन्छ । नेपालको आधिकारिक निशान छापमा गुराँस फूलकोे मालाले नेपालको नक्सामाथि पहाड सिँगारिएको देखाइएको छ । राष्ट्रिय जनावर गाई, राष्ट्रिय रंग सिम्रिक घोषित छ । गाई सर्बत्र पाइने जनावर हो । सिम्रिक रातो रंगको चूर्ण बाहेक केहि होइन । संवैधानिकरुपले राष्ट्रिय चिजबस्तुको हैसियत पाएका यि वस्तु कुन नेपाली समुदायको राष्ट्रिय पहिचान र सभ्यतासंग सम्बन्धित छ ? नेपालमा मात्रै पाइने भएर राष्ट्रिय भएका हुन ? अन्यत्र देशमा पनि त यि चिजबस्तु पाइन्छन । कम से कम आदिवासी जनजाति, मधेसीलाइ त सम्बोधन गर्ने यी चिज होइनन् । खस–आर्यलाइ पनि त गर्दैन । एउटा धर्म विशेषको धार्मिक मनोविज्ञानसंग सम्बन्धित पशु (गाई)लाई राष्ट्रियको दर्जा दिएर कस्तो अन्धविश्वासी नेपाली राष्ट्रियता निर्माण गर्न खोजिदैछ ? त्यो पनि धर्मनिरपेक्षताको लेपन लागेको संविधानको अगाडि ? यहि धङधङीमा आजपनि पहाडको पुख्र्यौली महत्व घटेको छैन । यसरी अनायस वाक्य फुट्छ, ‘साँच्ची तपाइको पहाड घर कता हो ?’
राष्ट्रियतामा कैफियत :
नेपालको यो स्वरुप गोर्खा राज्य विस्तार थियो या एकीकरण ? मूख्य राजनैतिक दलको घोषणा पत्रमा यो विषय खुट्टिदैन । राप्रपा बाहेकका दलहरु गोर्खा राज्यको विस्तार पनि भन्न नसक्ने, एकीकरण भन्न पनि अलमल गर्ने गर्दै आएका छन । यसैले नेपालको राष्ट्रियता, स्वाधिनता, क्षेत्रीय अखण्डताको राग अलापी रहनु पर्छ । बेला कुबेला राष्ट्रियता, स्वाधिनता धरापमा परेको सुन्नमा आइरहन्छ । राष्ट्रियता खतरामा परेकोले राष्ट्रिय मेलमिलापको नीति आएको कुरा आउँछ । कुनै बेला पञ्चायतको विरोधमा लाग्नेलाइ ‘अराष्ट्रिय तत्व’को ट्याग नै लगाएर कार्वाही गरिन्थ्यो । राष्ट्रियताका गलत आख्यानले ल्याएको यो व्याख्यान हो ।
विश्वका धेरै देशभन्दा जेठो भारत, अमेरिकाभन्दा पनि जेठो देश नेपाललाइ के तल वित्तल परिरहन्छ र राष्ट्रियता, स्वाधिनता,अखण्डताको भूतले तर्साइ रहन्छ ? वास्तवमा राष्ट्रियताको व्याख्या नै गलत छ कि भनेर दिमाग मन्थन किन नगर्ने ? परम्परागत राष्ट्रियताको चारदिवारी भूगोल अर्थात बाह्य राष्ट्रियतालाई मात्र राष्ट्रियता ठानियो । आन्तरिक राष्ट्रियता अर्थात समुदायको राष्ट्रियतालाइ सम्बोधन गरिएन । अहिले पनि गर्ने काम भएकै छैन । आन्तरिक राष्ट्रियता बलियो बनाए बाह्य राष्ट्रियता स्वतः बलियो हुन्छ भन्नेमा दिमागी मन्थन हुन सकेन ।
समुदायको पहिचान र सभ्यतायुक्त राष्ट्रियता साम्प्रदायिक एवम् जातिवादी हुन पुग्यो । राष्ट्रियताको यही एक पाखे व्याख्यालाइ जोगाउन हजार नालीबेली लगाइएको हो । त्यो नालीबेली पहाडे खस राजा महेन्द्रकृत राष्ट्रवाद हो । यस्ता अलौकिक राष्ट्रवादलाई सिँगार्न पशुपंछी, फूल–फलेदो, रंगको सहारा लिनु परेको छ । यसैले त मधेसमा दशै पुस्ता बसेपनि मधेसको नाम लिन हिच्किचाहट हुन्छ र गर्वकासाथ भन्छन, ‘हाम्रो पहाड घर फलाना चिलाना ठाउँ हो ।’
चन्द्र सूर्य अंकित झण्डाको वौद्धिक विलासयुक्त अर्थ छ । विश्वमा कुनै देशको राष्ट्रिय झण्डाभन्दा फरक, चन्द्र सूर्यले दिने प्रभाव आदिमा बहस हुन्छ । कुनै पण्डाले अनेक अर्थ लगाएको भरमा हाम्रो राष्ट्रियता स्तनधारी जनावर, पंछी, फूलफलेदो देखाएर राष्ट्रियता अथ्र्याउन अभिशप्त छौं । भिल्लको देशमा मणीमाण्क्यि खोजे झैं राष्ट्रियताको जरोकिलो खोज्नमा अभिसप्त छ । चुच्चे नक्सारुपी ख्याली पुलाउको धून नेपथ्यमा पुगिसक्यो । ‘ग्रेटर नेपाल’रुपी खिचडी बसालेर बलात नेपाली जनको भावनात्मक मोलतोल भैरहेको छ । ग्रेटर नेपालको नक्सा राख्ने महान राष्ट्रवादी नराख्ने जति राष्ट्रघाति बनाउने उपक्रम चलेको छ । ग्रेटर नेपालको नक्सा सयन कक्षमा कोरेर कुन राष्ट्रवादको हरिकीर्तन गराउँदैछौ ? या अर्को राष्ट्रघातको सुगौलीलाई चुले निम्तो दिँदैछौ ?
गजराज मिश्र र चन्द्रशेखर पाध्यायको नयाँ अवतारीको भूमिका त गरिरहेका छैनौ ? दक्षिण एसियाको आजको भू–राजनीतिमा यो सब सम्भव हुने कुरा हो ? दिउँसै तारा देखाउने सौर्यमण्डलीहरुलाइ सोधिने प्रश्न हुन । यस्ता ढोंगी राष्ट्रवादबाट बेलैमा सचेत हुन जरुरी छ । प्रेमिकालाइ बसमा पार्न सुनको तारा झार्ने कुरा कल्पनामा मात्र हुन्छ । सोम शर्माको सातुको कथा सम्झेर मिठो निन्द्रा आउला तर तन्द्रामा आउँदा घैंटो फुटेर सर्बस्व भैसकेको हुनेछ । तर राष्ट्रियतासंग अन्तरसम्बन्धित भएर यो प्रश्न आइरहन्छ, तपाईको पहाड घर कहाँ हो ?
रहल–पहल :
भैगोलिक राष्ट्रवादको अर्थ हुन्न । त्यसमाथि एक पाखे पहाडे एक नश्लीय, परम्परागत राष्ट्रियताको त कुनै माने हुन्न । राष्ट्र भनेको पछिल्लो संविधानले परिभाषित गरेको कम से कम मूल्य हो । ढुङ्गा माटो, खोलानाला, पशुपंछी, बोट विरुवाले राष्ट्रको परिभाषा गर्नै सक्तैन । भूगोलले राष्ट्रियता जोगाउने पनि होइन । राष्ट्र भनेको जनता जनार्दन हुन । जनसमुदाय कै पहिचान र सभ्यता हो । जनताको अर्थ–राजनैतिक जिवन, साझा भाषा, मनोविज्ञान र गौरव हो । हिजो राजा महेन्द्रले ‘विकासको लागि राजनीति’को नाममा एकल राष्ट्रवादको नारा छरे । आज ‘विकास र समृद्धि’को नाममा त्यही राष्ट्रवादलाई कोरल्न खोजिँदैछ ।
कसै कसैले त अझ ‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा भुल्याएर सडेगलेको, मिति पुगेको राष्ट्रवादमा आधारित राष्ट्रघात गर्न खोजि रहेका छन् । चुच्चे ढुंगो उही टुंगो भने झैं परम्परागत राष्ट्रवादलाइ नयाँ लेपन गरिएको आजको राष्ट्रियताको यो भग्नावशेष हो । पहाडे राष्ट्रवादको मालश्री गाउनुको साटो नयाँ राष्ट्रियताको खोजी आजको कार्यभार हुनु पर्छ । अनिमात्र ‘तपाइको पहाड घर कहाँ हो ?’ थेगो वाक्य छुट्नेछ ।




