धरान : अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसन (आईबिए)बाट मान्यता प्राप्त प्रोफेसनल तथा एमेच्योर बक्सिङको दोस्रो संस्करण ‘धरान फाइट नाइट’ माघ २३ गते धरानमा आयोजना हुने भएको छ।
धरान बक्सिङ संघले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
देशभरबाट १४ जना बक्सरहरूको सहभागिता रहने प्रतियोगितामा अघिल्लो वर्ष सम्पन्न प्रतियोगिताका विजेता धरानका बक्सर सिंहवीर लिम्बूसहित १४ जना खेलाडी रिङमा उत्रिने संघका सचिव महेश आले मगरले जानकारी दिए।
उनका अनुसार प्रतियोगिता माघ २३ गते शुक्रबार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङमा साँझ ४ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रोफेशनल तर्फ रमिशा श्रेष्ठ विरुद्ध नाङजा बुढा मगर बिच महिला खेलाडीहरुबीच प्रतिष्पर्धा हुनेछ ।
प्रोफेशनल तर्फ सिंहवीर लिम्बूका विरुद्ध प्रदिप महर्जन, अनिष भूजेल विरुद्ध रिवाज तामाङ, प्रदिप पार्की विरुद्ध मनोज तामाङबीच प्रतिष्पर्धा हुनेछ । प्रोफेशनल तर्फ प्रथम हुनेलाई ५० हजार दोस्रोलाई २० हजार त्यसैगरी एमाच्योर तर्फ प्रथमहुनेलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कार तथा ट्रफि प्रदान गरिने पनि पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष दिपक राईले जानकारी दिए ।
धरान बक्सिङ संघका सचिव महेश आले मगरका अनुसार धरानमा बक्सिङको विकासका लागि संघले विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण दिँदै आएको छ। साथै धनकुटाका खेलाडीहरूलाई धरानमै आवासीय व्यवस्था सहित तालिम प्रदान गरिएको छ।
उनले भविष्यमा धरानलाई बक्सिङ क्षेत्रको फरक पहिचान बनाउने उद्देश्यका साथ संघले निरन्तर काम गरिरहेको बताए।

तपाईको प्रतिक्रिया