धरान : धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक हाम्रो भेट्रान धरान विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
धरान–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा आयोजक हाम्रो भेट्रानले विराट भेट्रानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा विराट भेट्रानका प्रकाश थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा भने आयोजक टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । हाम्रो भेट्रानका जीवन लिम्बु र पदम राईले समान १–१ गोल गर्दै टोलीलाई फाइनल यात्रा तय गराए ।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा आयोजक हाम्रो भेट्रान विजयी बन्न सफल भयो ।
खेलको म्यान अफ द म्याच आयोजक टोलीका पदम राई घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत मङ्गलवार हुने दोस्रो सेमिफाइनल खेलमा धरान भेट्रान र पूर्वेली भेट्रान झापाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया