
विराटनगर : पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामर्थ्य नभएको, तर जनताको तागत भने रहेको बताए । ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन ।
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भने, ‘अहिले तत्काल ठुला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ ।यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति नपुगेको भन्दै प्रचण्डले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नु देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताए ।
कम्युनिस्ट एकताको अभियान चुनावका लागि मात्रै होइन :

प्रचण्ड प्रचण्डले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे ।प्रचण्डले भने “चुनाव त हामी जीत्छौँ, जित्छौं । तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ ।,”
चुनाव फागुन २१ मै हुनुपर्ने धारणा :
आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे।पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास गरेका छन ।
“सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,” प्रचण्डले बताए ।
देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि उहाँले दिनुभयो।“यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउन सक्छ,” प्रचण्डको भनाइ थियो। सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधिनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश राजनीतिक रूपले संवेदनशील मोडमा पुगेको संकेतका रूपमा लिएका छन्।प्रचण्डले भदौ २४ गते भएको घटनालाई ‘असाधारण संकट’ को संज्ञा दिए । उनले उक्त दिन ऐतिहासिक धरोहरहरू जलेर ध्वस्त भएको र देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको दाबी गरे । ‘त्यो विध्वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौँ,’ उनले भने, ‘नारायणहिटी सरसफाइ भएर राजा ल्याउने वा सेनाले सत्ता लिने भन्ने खालका सन्त्रासको परिस्थिति सिर्जना भएको थियो ।’
उनले अहिले पनि राष्ट्र संकटमै रहेको उल्लेख गरे । प्रचण्डले जेनजीको आन्दोलनले पुराना राजनीतिक दलहरूलाई झकझक्याएको स्वीकार गरे । उनले भने, ‘जेनजी पुस्ताका युवाहरूको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्यो । कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो ।’ अब विचार बुढो र तन्नेरी नहुने भन्दै उनले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताए । ‘हामी धेरै पछि परिसकेका छौँ ।
अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भने, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’ प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिए । उनले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताए ।
‘यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उनले भने, ‘हामी चुनावमा होमिसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’
सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिए । ‘मसँग दौडिने कोही छ रु मर्निङ वाक कति गर्ने हो, म तयार छु ।
हेभी एक्सरसाइज कति गर्ने हो, म युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भने, ‘भुईँफुट्टा, इतिहासविहीन र विचारविहीनले गरेको हो–हल्लाको पछि नलाग्नुहोला ।’ उनले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी समेत गरे ।






