
धरान :लोप हुँदै गएका मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक वाद्यवादनतर्फ आकर्षित गर्ने उद्देश्यले धरानमा ‘कुटुम्ब ब्याण्ड’ र पासा खलः धरानबीच सांगीतिक सहकार्य हुने भएको छ।
मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै पासा खलः धरानको आयोजनामा आगामी भदौ ५ गते धरानको भानुचोकमा ‘ईकोस अफ हेरिटेज ’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
पासा खलका महासचिव अमृत श्रेष्ठले काठमाडौं बाहिर कुटुम्ब ब्याण्डसँग हुन लागेको यो पहिलो सांगीतिक सहकार्य रहेको बताए । उनले नेपालका मौलिक वाद्यवादनलाई देश तथा विदेशका विभिन्न शहरमा प्रस्तुत गर्दै आएको कुटुम्ब ब्याण्डसँग पासा खलःले आफ्ना मौलिक नेवारी बाजासहित सहकार्य गर्न लागेको बताए । कार्यक्रममा धिमे लगायतका मौलिक बाजाका साधक तथा कलाकारहरूको प्रस्तुति रहनेछ।
कार्यक्रममा धनकुटा सहित पूर्वका पाँच जिल्लाबाट धिमे तथा अन्य मौलिक वाद्यवादनसँग सम्बन्धित कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। खोटाङ,झापा,धनकुटा,इटहरीलगायत क्षेत्रका वाद्यसाधकसमेत सहभागी हुनेछन्।
पासा खलःका अनुसार कार्यक्रमको उद्देश्य लोप हुँदै गएका मौलिक बाजा तथा सांस्कृतिक परम्पराबारे जागरण फैलाउनुका साथै वाद्यवादनलाई व्यावसायिक रूपमा अघि बढाउने सम्भावनाको खोजी गर्नु हो।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहनेछ। श्रेष्ठको “अरबौ मान्छे हरुमा तिमी एक मन मिल्ने मान्छे र सय थरि बाचा एउटै ताल” प्रस्तुति सहित कार्यक्रमको शुभारम्भ गरिने आयोजकले जनाएको छ। साथै उनको स्विटर कि गायिका सबिना बिकको समेत प्रस्तुति रहने भएको छ ।
पासा खलः धरान र कुटुम्ब ब्याण्डबीच करिब एक महिनादेखि सांगीतिक सहकार्यको तयारी भइरहेको छ। आयोजकका अनुसार प्रशिक्षणबाट दक्ष भएका वाद्यसाधकलाई आफ्नो सीपमार्फत जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यसमेत सहकार्यको रहेको छ।





