
सुनसरी : अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्क स्टेडियममा नेपाली समुदायलाई जोड्ने उद्देश्यसहित आरटीपी (रिसर्च ट्रयाङ्गल पार्क)मा दशैं खसी कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
दशैं–तिहारको पूर्वसन्ध्यामा आयोजना गरिएको प्रतियोगितामा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका १० टोली सहभागी छन् । सेप्टेम्बर १८ देखि सुरु भएको प्रतियोगिता प्रत्येक सप्ताहान्तमा खेल सञ्चालन गर्दै करिब एक महिनासम्म चल्ने आयोजक समितिका सदस्य टंक सेलिङले बताए ।
नेपाली समुदायबीच एकता,आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्नुका साथै नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेलिङका अनुसार मातृभूमिभन्दा टाढा अमेरिकामा बसोबास गरे पनि नेपाली समुदायले दशैं–तिहार, चासोक तङनाम, साउने संक्रान्ति, माघे संक्रान्ति, ल्होसार, साकेला र म्हःपूजालगायत सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै आएको छ । आरटीपी दशैं खसी कप पनि नेपाली संस्कृति र समुदायलाई जोड्ने एउटा माध्यमका रूपमा विकास हुँदै गएको उनले बताए ।
प्रतियोगिताका लागि चियाबारी एफसी,दुर्गा एफसी,माछापुच्छ्रे एफसी र राइनो एफसी सेमिफाइनलमा पुगेका छन् । फाइनल खेल अक्टोबर १० मा हुने आयोजकले जनाएको छ ।उपाधि विजेता टोलीलाई ३० केजीको खसी र मेडल प्रदान गरिनेछ ।टिम चियाबारीका कप्तान मोहन सापकोटाले प्रतियोगिताले नेपाली डायस्पोराबीच आपसी सम्पर्क, सहकार्य र सम्बन्ध विस्तारसँगै नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्वलाई थप मजबुत बनाउन सहयोग गरिरहेको बताए ।
आयोजक सदस्य विकास सापकोटाले अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई समेत समुदायसँग जोड्न प्रतियोगिता आयोजना गरिएको बताए ।यस वर्षको आरटीपी दशैं कप आयोजनामा टंक सेलिङ, विकास सापकोटा, जीवन न्यौपाने,दीप रिशाल, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजक सदस्यका रूपमा रहेका छन् ।
प्रतियोगिताका खेलाडी भूपाल कोइरालाले आरटीपी दशैं कप अमेरिकामा रहेका नेपालीहरूको साझा कार्यक्रमका रूपमा विकास हुँदै गएको बताए । उनले प्रतियोगिताले दोस्रो पुस्तासहित नयाँ पुस्तालाई नेपाली संस्कृति,चाडपर्व र समुदायसँग जोड्ने साझा मञ्चको भूमिका निर्वाह गरिरहेको बताए ।

