धरान : नेवा देय दवु धरान नगर समितीको आयोजनामा रञ्जना लिपीको पुनर्जागरण गर्दे १५ दिन सम्म सञ्चालित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार धरान–१६ स्थित हारती अजिमा मन्दिरमा सम्पन्न १५ दिने रञ्जना लिपि तालिमको समापन समारोहको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सरकार जनताको भाषा, संस्कृति र वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिए ।
उपप्रमुख बेघाले बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा सबै समुदायको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै स्रोत–साधन निष्पक्ष र न्यायोचित रूपमा वितरण हुनुपर्ने बताए । उनले भने“भाषा बोल्नु मात्र होइन, लेखेर पनि जोगाउनुपर्छ ।” नेवार लिपि (नेपाल भाषा) सिक्ने र दैनिक जीवनमा प्रयोग बढाउनुपर्नेमा जोड दिए। परम्परागत मन्त्र, गीत तथा सांस्कृतिक ज्ञान आफ्नै मूल लिपिमा लेख्दा पौराणिक ज्ञान र सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षण गर्नुपर्छ ।
कार्यक्रममा नेवा देय दवु धरानले समाजमा योगदान पुर्‍याएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन (परीक्षा नियन्त्रक)अञ्जु प्रधान, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठ तथा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष सुरेन्द्रमान स्थापितलाई सम्मान गरेको छ।
समापन समारोहको अध्यक्षता नेवा देय दवु धरानका अध्यक्ष मनोहर शाक्यले गरेका थिए। कार्यक्रममा रञ्जना लिपि तालिमका उत्कृष्ट तीन प्रशिक्षार्थी ईसु लाखे, अनिश तुलाधार र मनिष ताम्राकारलाई समेत सम्मान गरिएको थियो।
पौष ५ गतेदेखि सञ्चालन भएको लिपी प्रशिक्षणमा ४० भन्दा बढी सहभागी रहेका थिए। अध्यक्ष शाक्यले तालिमको मुख्य उद्देश्य युवा पुस्तालाई रञ्जना लिपिसँग परिचित गराउँदै यसको संरक्षण र प्रचार–प्रसार गर्नु रहेको बताए।
“लिपिको प्रयोग अत्यन्तै न्यून हुँदै गएको छ, कतिपयलाई त नेपालका आफ्नै मौलिक लिपि छन् भन्ने जानकारीसमेत छैन ।”
उनले भने, “यही अवस्थालाई मध्यनजर गर्दै युवाहरूलाई रञ्जना लिपिको पुनर्जागरण अभियानमा सक्रिय बनाइएको हो।” लिपीलाई व्यवहारमा लागु गर्न अझ धेरै प्रशिक्षण आवश्यक रहेको अध्यक्ष शाक्यले बताए । १५ दिन सम्म लिपीको प्रशिक्षण नेवा ल्हाम दवुका केन्द्रीय अध्यक्ष सुदन मुनिकारले दिएका थिए । समापन समारोहमा वडा ३ का वडाअध्यक्ष विद्या शाक्य,१६ का वडाअध्यक्ष मुरारी भट्टराई, कार्यपालिका सदस्य सिर्जना नेपाल ,विनिता बज्रचार्य सिद्धी नेवा परिषद्का सल्लाहकार गोकुल श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया