
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले साकेला पर्वको सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी दिँदै यस पर्व उर्वरता, वृद्धि र समृद्धिको लागि प्रार्थना गर्ने अवसर भएको बताएका छन्।
शनिबार धरान–१७ स्थित साकेला पार्कमा आयोजित भाषिक स्तरीय साकेला शिली (सिली) प्रदर्शनी कार्यक्रममा बोल्दै उपप्रमुख बेघाले साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक पहिचानको प्रतीक भएको बताए।
उनले भने, “पर्वले समुदायलाई एकताबद्ध गर्दै संस्कार र संस्कृति सन्देश दिन्छ र नयाँ पुस्तालाई परम्परागत संस्कृतिसँग जोड्ने कार्य गर्छ।” कार्यक्रममा ढोल–झ्याम्टाको तालमा ठूलो घेरामा प्रस्तुत हुने सिली नृत्यले सामूहिकता, एकता र सांस्कृतिक गर्वलाई बलियो बनाउने उपप्रमुख बेघाको भनाइ छ।
उनले आधुनिकताका कारण हराउँदै गएको मौलिक पहिचान जोगाउन यस्ता पर्वको भूमिका अत्यन्तै महत्वपूर्ण भएको जोड दिए। पूर्व किरात राई यायोक्खा अध्यक्ष तथा निर्वतमान धरान उपमहानगरपालिका नगरप्रमुख तिलक राई ले साकेला पर्वसँग जोडिएका उभौली (वैशाख) र उधौली (मंसिर) पर्व किरात राईको प्रकृति पूजा र जीवनशैलीसँग सम्बन्धित भएको बताए।
राईले भने, “दुवै पर्वमा प्रस्तुत गरिने सिली नृत्यले किराती जीवनशैली, कृषि, शिकार, बीउ छर्ने र बाली काट्ने गतिविधिहरूको प्रतीकात्मक अभिव्यक्ति गर्दछ। परम्परागत अभ्यास र सांस्कृतिक ज्ञान संरक्षण नगरे समुदाय कमजोर बन्ने खतरा हुन्छ।”
धरान–१५ का वडा अध्यक्ष नरेश ईवराम ले साकेला पर्वमार्फत कृषि, प्रकृति पूजा र सामुदायिक जीवनशैलीको संरक्षण हुने बताए। उनले सिली नृत्य मार्फत प्रदर्शन गरिने गतिविधिहरूले किराती समुदायको सांस्कृतिक र परम्परागत जीवनशैलीको चित्रण हुने पनि बताए।
उभौलीले खेतीपाती सुरु हुने समयलाई चिन्ह लगाउँछ भने उधौलीले फसलको उल्लास र कृतज्ञताको प्रतीकको रूपमा मनाइन्छ। वक्ताहरूले नयाँ पुस्तालाई सक्रिय सहभागिता गराउन परिवार, संस्था र स्थानीय सरकारको समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा किरात राई यायोक्खा र यसका स्थानीय शाखाका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई ले गरेका थिए।





