धरान : धरान १४ विजयपुर स्थित दन्तकाली मन्दिरमा हर्कबढाईकासाथ वडा दशैंको फूलपाती भित्र्याइएको छ ।
आज सोमबार दिउँसो साइतमा फूलपाती भित्र्याइएको हो । दुर्गाको नौ वटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपको आज विशेष पुजाआराधाना गरिन्छ ।आजको दिन देशभरका शक्तिपिठहरुमा फूलपाती भित्र्याउने चलन छ ।
फूलपाती भित्र्याउन मन्दिरबाट बाजासहितको टोली पिण्डेश्वर मन्दिरतर्फ गएको थियो । त्यहाँबाट ३ जना पुजारीले खोजेर सङ्कलन गरेको ९ प्रकारका वनस्पति केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्तीलाई नवपत्रिका वा फूलपातीकोरुपमा हर्क बढाई गरेर दन्तकालीमा भित्र्याइएको छ ।नवपत्रिकालाई विधिपूर्वक डोलीमा राखेर दन्तकालीमा ल्याएर फूलपाती भित्र्याइएको मूल पुजारी विश्वराज खनालले जानकारी दिए । यही विधिलाई फूलपाती भित्र्याउने भनिएको उनले बताए ।
नवपत्रिका खोजी गर्न बिहानै ३ जना पुजारी पिण्डेश्वर क्षेत्रमा गएका थिए । फूलपाती भित्र्याउँदा घर घरबाट स्थानीयले फूलपाती पनि डोलीमा चढाउने गर्छन् ।
मन्दिरमा भित्र्याइसकेपछि पूजा गरिने र दशमीको दिन अपराजिताको पूजा सकेपछि विसर्जन गरिने मूल पुजारी खनालले जानकारी दिए । फूलपाती विसर्जन भएपछि मात्र मन्दिरको मुलढोका खोलिने र सर्वसाधारणहरूले दर्शन गर्न पाउने उनले बताए । फूलपाती भित्र्याउन धरान १४ का वडाध्यक्ष सहित वडासदस्यहरु,नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया