;
- भवानी बराल

कवि नरेश शाक्यले बैंस शीर्षकमा एउटा दार्शनिक कविता लेखेका छन् । उनको यो कविताको सारांश हो, बैंस छँदै सबथोक गर्नु पर्छ । बैंस घर्केपछि त पछुताउनु बाहेक केहि बाँकी रहँदैन । बैंसका बारेमा अनेकान साहित्यकारले अनेक रचना गरेका छन ।

जवानी छँदै केही गर्न हौसाएका छन् । नत्रता ‘जोवन गयो बैंस त गएन लै लै’ जस्ता विरही गीत गाएर मनको सन्तोष पुरा गर्नुको विकल्प छैन । गाउँघरमा गीतको माध्यमबाट बैंसको सटिक बखान गरेको हामीले सुन्दै आएका छौं । तनहुको बन्दीपुर तिर गाइने लोकभाकाले बैंसको चरितार्थ गरेको हामीले सुनेकै छौं । ‘बैंस हुँदा रेलीमाई भलबाढी तरियो, बुढेसकालमा रेलिमाई दोधारमा परियो ।’ यस्तैयस्तै भाकाले जीवन दर्शनबाट दीक्षित हुँदै आएका पनि हौं ।
नेपालसहीत विश्वको परिवर्तन तिनै बैंसहरुले गरेका हुन । तीनकै पौरखले आजको परिवर्तन देख्न र विचरणयोग्य बनाएको हो । गएको भदौ २३ गते (सेप्टेम्बर ८) नेपालका जेन–जी बैंसले यस्तै ऐतिहासिक विद्रोह गरे । त्यो विद्रोहले दशकौंदेखि जकडिएको कुशासनको जग हल्लाइ दियो । विद्रोहमा नेपाली जनताका होनाहार छ दर्जन बढी छोराछोरी शहादत भए । सयौं घाइते भए । यसै विद्रोहको आँधीमा टिक्न नसकेर पुरानो सत्ताको बादशाह सिंहासन छोडेर कुलेलम ठोके । दूई ठुला पार्टीसहीत अन्य साना पार्टी सम्मिलित दुई तिहाइको सत्ता तासको घर झैं एकै झिमिकमा गल्र्यामगुर्लुम ढल्यो । राजनैतिक दल किनारमा धकेलिए ।

विद्रोहपछि राजनैतिक दल किंकर्तव्यविमुढ भए ।एकसय चार वर्ष पुरानो एकतन्त्रीय हुकुमी शासन फाल्ने तीनै बैंसहरु अगाडि आए । राणा शासन विरुद्धको विद्रोहको शंखघोष गंगालालसहीत चार जना युवाहरुले गरेका थिए । गंगालाल त २२ वर्षको जेन–जी उमेरमा हाँसीहाँसी फाँसीमा चढे । बाँकी धर्मभक्त (३१ वर्ष), दशरथ चन्द (३७ वर्ष), र शुक्रराज (४७)वर्षमा शहिद भए । अहिलेको उमेर समूहको वर्गीकरण अनुसार महान चार शहीद जेन–जी र जेन–वाई थिए । युवावय थिए जस्ले अन्धकारको फलामे ढोका पहिलो पटक फोरे ।
राणा शासनको अन्त्यपछि राणा–कांग्रेसको कुशासन विरुद्ध चिनियाकाजी शाक्यको विद्रोह पनि भुल्नु हुँदैन । १४ वर्षका कलिला विद्यार्थी चिनियाकाजीलाई भूगोलपार्कमा गोली हानी हत्या गरियो । धनुषाको जदुकुवामा विद्यार्थी कामेश्वर मण्डल, कुशेश्वर यादव (कामेश्वर–कुशेश्वर)को हत्या सरकारले ग¥यो । उनीहरु जेन–जी उमेरको प्रतिनिधि पात्र थिए । नेपालको विद्यार्थी आन्दोलनमा सम्झीरहनु पर्ने यी दुई शहीदहरु हुन । नयाँ शिक्षा, पञ्चायत विरुद्ध, ०३५–०३६ को विद्यार्थी आन्दोलन, पहिलो जनान्दोलन, माओवादी शसस्त्र विद्रोह, मधेस विद्रोह, आदिवासी जनजाति, महिला, दलित, सिमान्तकृत समुदायको आन्दोलनमा तीनै जेन–जीहरुको रगतले परिवर्तनलाई सिँचित गरेको हो । गंगालाल–चिनियाकाजी–कामेश्वर–कुशेस्वर–दिलबहादुर रम्तेल हुँदै पहिलो ऐतिहासिक जेन–जी विद्रोहमा लामबद्ध महान शहीदहरुको फेहरिस्त उतार्नु निकै लामो हुन्छ ।
बैंस र विचार :
तर यस्ता विद्रोहहरुमा बैंससहीत विचारको संयोग मिल्नु पर्छ । सन् २०१०–२०११मा ठेला व्यापारी मोहम्मद बुआजीको आत्मदाह पछिको दर्दनाक घटनाले अरब स्पृङ वा अरब बसन्त आन्दोलनको डढेलो सल्कियो । ट्युनेशियाबाट उठेको आन्दोलनले त्यस क्षेत्रका ठूला तानाशाहहरु ढले ।

मध्य अरबदेखि उत्तर अफ्रिकासम्म आन्दोलनको आँधीले लपेट्यो । तर त्यसपछि ती देशको परिस्थिति के भयो ? हाम्रो नाङ्गो आँखाले देखिरहेको छ । इण्डोनेसिया, मंगोलिया, सर्विया, केन्या, बंगलादेश, श्रीलंकाको जेन–जी वा जेन–वाई युवाहरुको विद्रोहको जनादेश कता बरालिँदै छ ?

स्वतस्फूर्त आन्दोलनले ल्याउने परिणाम पनि सिमित हुन्छ । तत्कालीन माग–मुद्धा सिमित तहमा सम्बोधन पनि होलान । तर दीर्घकालीन समस्याको समाधान गर्दैन । नेपालको जेन–जी विद्रोहले उठाएको मुद्धा भ्रष्टाचार र कुशासनको अन्त्य हो । विचार अभिव्यक्तिको स्वतन्त्रता र पारदर्शिता हो । तर आन्दोलनको जनादेश अर्कैतर्फ मोडिदै छ । एकथान अन्तरिम सरकार बनाउने यथास्थितिको प्रतिनिधिसभा पुनस्थापित गर्नेतर्फ विषयान्तर हुँदै गएको छ ।

नरसंहार र ध्वंसात्मक गतिविधिको सत्यतथ्य छानबीन गर्ने आयोग त बन्यो यद्धपी भ्रष्टाचारको विषय ओझेलमा परेको छ । तीन महिना भित्र नरसंहार र ध्वंसात्मक गतिविधिको छानवीन प्रतिवेदन पनि आउला । तर कार्यान्वयनमा अहिले नै बग्रेल्ती प्रश्न उठाउने ठाउँ प्रशस्त छ । विगतमा मल्लिक, रायामाझी आयोगसहीत अनेक आयोगका प्रतिवेदन भर्सेलामा परे । यस्तै नियति यो आयोगको नहोला भन्न सकिने विश्वसनीय आधार छैन । माओवादी विद्रोहसंग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबीन आयोगको हालत हेर्दा काफी हुन्छ ।
राजनीती र जेन–जी :
दर्शनशास्त्री प्लेटोले भनेका छन, राजनीतिमा सहभागि नहुँदा मूर्ख व्यक्तिको शासन खप्नु पर्छ । यसअघिका युवा पुस्ताले त यो मर्मलाइ आत्मसाथ गरेकै थिए । अहिलेका जेन–जीलाइ भने राजनीतिलाइ फोहरी खेल मान्दै आएको आरोप थियो । तर, अहिलेका जेन–जी पुस्ताले पनि यसपटक विद्रोहसहीत राजनीति गरे । आजका जेन–जीले राजनीतिमा आँखा लगाउनु एकदमै सकारात्मक हो । तर जेन–जीले विचारलाई पनि जोड्न सक्नु पर्छ । विचारविहीन विद्रोहले लक्षभेद गर्न सक्तैन । विचारविहीन लडाँइले लाने भड्खालो मै हो ।
यो सरकारले गर्न सक्ने एकमात्र काम प्रतिनिधिसभाको चुनावसम्म हो । चुनावलाई हस्तक्षेप गर्न पनि दर्शन, विचारसहीतको सिद्धान्त चाहिन्छ । १६५ निर्वाचन क्षेत्रमा हस्तक्षेप गर्न बलियो संगठन वा दल चाहिन्छ । दलले बोक्ने दर्शन, विचार, सिद्धान्त, रणनीति, कार्यनीति र त्यो अनुसारको सांगठानिक संरचनासहीतको नीतिगत नेतृत्व आवश्यक हुन्छ ।

निर्वाचन नजिकमा छ, दशैं, तिहार, छठपछि लगत्तै निर्वाचनमा हेलिने विषयले प्राथमिकता पाउँछ । परम्परागत दलहरु यथास्थितिलाई कायम राख्न चुनावलाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने छैनन । यदि परम्परागत दलले आफ्नो पक्षमा प्रतिनिधिसभालाइ पारे भने अहिलेका मागमुद्धा खारेज हुनेछन । यी दलहरुले चुनावका बखत शासकीय स्वरुपमा परिवर्तन ल्याउने, नयाँ नौतुन काम गर्ने प्रतिबद्धता जाहेर गरे भनेपनि त्यो चुनावी घोषणा पत्रका ललीपप मात्रै हुनेछन् ।
रहल पहल :
जेन–जी वा जेन–वाइ युवाहरुले दुनियालाई बदले । तर, ती युवाहरु विचारले लेस थिए । कार्ल माक्र्सले ३० वर्षको उमेरमा कम्युनिस्ट घोषणापत्र लेखेर विश्व हल्लाए । महान क्रान्तिकारी चे गुवारा, फिडेल क््यास्ट्रोले जेन–जी उमेर मै क्रान्ति गरे । जेन–वाइ उमेर पुग्दा क्रमसः ३७ र ३९ वर्षमा क्युवा स्वतन्त्र बनाउँदै सत्ता सम्हाले । हाम्रै देशका वीपी कोइराला क्रान्ति सम्पन्न हुँदा ३६ वर्षका मात्र थिए ।

पुष्पलालले २५ वर्षको उमेरमा कम्युनिस्ट घोषणा पत्र नेपालीमा अनुवाद गरे । कम्युनिस्ट पार्टी गठन गरे । सिद्धार्थ गौतम बुद्धले २९ वर्षमा दरबार परित्याग गरे । ३६ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे । लु सुन ३० वर्षको उमेरमा महान साहित्यकार बने । टर्कीका युवा तुर्क कमल पासाको योगदान त्यस्तै अध्ययनयोग्य छ । यसरी विश्व इतिहासमा विचारसहीतका युवाहरुको विद्रोहको जनादेश संस्थागत भएको अनेकान प्रमाण छ । विचारविहीन विद्रोहको पतन अनिवार्य हुन्छ ।

नेपालको वर्तमान अन्तरविरोध खुटायाउँदै विश्व दृष्टिकोण अनुसार नेपालका जेन–जी पुस्ताले विचार निर्माण गर्नु आवश्यक छ । तबमात्र यो विद्रोहको यथार्थ निश्कर्ष निस्कन्छ र उज्यालो भविष्यको मार्गचित्र प्रशस्त हुन्छ ।

तपाईको प्रतिक्रिया

;